काठमाडौं उपत्यकामा आज ट्राफिक नियम उल्लंघन गरेपछि नौ सय ६ वटा सवारीसाधनहरू होल्ड भएका छन् ।
होली पर्वलाई मर्यादित र सुरक्षीत बनाउन काठमाडौं उपत्यकाका नाका सहित ६८ स्थानमा ट्राफिक प्रहरीले विशेष चेकिङ गरेको थियो ।
होली पर्व मनाउने बहानामा मोटसाइकलमा तीन जना चढ्ने, हेलमेट नलगाउने, तिव्र गतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र नभएकाले सवारी साधन चलाउने, मदिरा पिएर सवारी साधन चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।
दिनभर भएको चेकिङमा आज ९०६ ओटा सवारी साधनलाई होल्ड गरिएको छ । जसमध्ये मदिरा पिएर सवारी साधन चलाउने १०६ जना चालक रहेका छन् । होल्ड गरिएका सवारी साधनलाई आवश्यक कारवाही पश्चात् छाडिएको छ ।
होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियाे । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेकोे थियाे ।
केही वर्षदेखि रङको पर्व फागु अर्थात् होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर चार/पाँच वर्षयतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ ।