कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेका छन् ।
सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न मंगलबार दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो । उनले भने ‘दोस्रो चरणको निर्वाचनमा मेरो जित निश्चित छ । नतिजा जे भए पनि स्वीकार्न तयार छु’ । हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गरेर कोइरालाले मैदान नछाड्ने बताएका हुन् ।
कोइरालाको यो निर्णयसँगै अब कांग्रेस सभापतिका लागि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने निश्चित भएको छ ।
सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन् । इतर समूहले सहयोग नगरे पनि कोइरालाले चुनावबाटै फाइनल हुने निर्णय रोजेका छन् । उनले अन्तर्मनको आवाज सुनेर भोट हाल्न कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई अपिल पनि गरेका छन् ।
पत्रकार सम्मेलनमा कोइरालाले भने ‘महाधिवशेनका प्रतिनिधिहरू आफैँ नेता हुन् । दोस्रो चरणको मतदानमा उहाँहरूले आफ्नो अन्तरआत्माकाे हृदय प्रयोग गरेर भोट गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । भोट हाल्दा गुट-उपगुट सबै बिर्सेर आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्छु ।’