नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।
राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा भन्दा बढी भइसकेको छ । २७७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १३१८ मत पाएका छन् भने शेखर कोइरालाले १०२३ मत पाएका छन् ।
प्रकाशमान सिंहले २०५ र विमलेन्द्र निधिले १६६ मत पाउँदा कल्याण गुरुङले १४ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मत गणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।