कांग्रेस सभापतिको मतगणना सुरु भएको छ । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो ।
राति अबेर मतदान सकेपछि अघि बिहानैदेखि मतगणना सुरु भएको छ । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । अहिले प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ, जसअनुसार १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् ।
अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन् । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको छ । समितिका अनुसार मङ्गलवार बिहानसम्म सभापतिको मतगणना सम्पन्न हुनेछ ।
सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्याङ्की सोमवार मध्यरातमै पार्टी कार्यालय सानेपा लगिएको छ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
१४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।