नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । अहिले प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ, जसअनुसार १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् ।
अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन् । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।