नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापतिका उम्मेदवारहरूको मतगणना राष्ट्रियसभा गृहमा हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सभापतिका उम्मेदवारहरूको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ ।
मतदान सकिएको करिब डेढ घण्टापछि राष्ट्रियसभा गृहको तीन ठाउँमा मतगणना सुरु गर्ने तयारी समितिको छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ । सभापतिको टुङ्गो लागेपछि अन्य पदको मतगणना हुने उनले बताए । अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापति हुनको लागि कूल खसेको मतको ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । यदि कुनै पनि उम्मेदवारहरूले ५० प्रतिशत ल्याउन सकेनन् भने पुन: मतदान हुनेछ ।
५ जना सभापतिको आकांक्षी भएपछि पुन: मतदान हुने सम्भावना बलियो देखिएको छ । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् ।
पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएको खण्डामा दोस्रो पटक निर्वाचन हुन्छ । उक्त निर्वाचनमा सधैभन्दा धेरै मत प्राप्त गर्ने र दोस्रो मत ल्याउनेबीच मात्र प्रतिस्पर्धा हुन्छ । अन्य सबै प्रतिस्पर्धी बहिरिन्छन् ।