नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान गर्ने समय पुन: थप गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो।
निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी सुरूमा आज राति ९ बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर १०.३० बजेसम्म पुर्याइएकोमा पुन १ घण्टा थप गरेर ११:३० सम्म पुर्याइएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।
कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । राति ९ बजेसम्म चार हजार २९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।