नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।
महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गरे ।
उनले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै प्यानलमा पनि आफू नरहेको र आफूले स्वतन्त्ररुपमा आफ्नो मतदानको प्रयोग गर्ने बताए । कांग्रेस महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम तोकिएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्न ढिलाइ भएकाले ढिलागरी मतदान सुरु भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता छन् । यी प्रतिनिधिले आगामी चार वर्षका लागि काँग्रेसको नयाँ नेतृत्व छनोट गर्नेछन् । महाधिवेशनमा सभापतिका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिएका छन् ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।
अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।