प्रदेश १ को राजधानी विराटनगरका पाँच नेताहरूले नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा पदाधिकारीतर्फ उम्मेदवारी दिएका छन् । सभापतिमा एक, उपसभापतिमा तीन र महामन्त्रीमा एक गरी विराटनगरका पाँच जनाको पदाधिकारीमा उम्मेदवारी परेको हो ।
काङ्ग्रेस सभापतिमा शेखर कोइरालासहित उपसभापति र महामन्त्रीमा गरी विराटनगरका पाँच जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । शनिबार राष्ट्रिय सभागृह पुगेर शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिएका छन् । शेखरलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन रहेको बताइन्छ । रामचन्द्र भने यसपटक सभापतिको प्रतिस्पर्धाबाट अलग्गिएका छन् । तर उनले शेखरको टिमलाई समर्थन गर्ने बताइएको छ ।
त्यसबाहेक उपसभापतिमा कोइराला परिवारकी नेतृ सुजाता कोइरालाले नयाँ बाटो रोजेकी छन् । उनले आफ्ना दाजु शेखरको टिम छोडेर प्रकाशमान सिंहको पक्ष लिएकी हुन् । प्रकाशमानको प्यानलबाट उनी उपसभापतिकी उम्मेदवार हुन् ।
यस्तै, महेश आचार्यले कुनै प्यानलमा नरही उपसभापतिमै उम्मेदवार दिएका छन् । विजयकुमार गच्छदारले देउवाको समूहबाट उपसभापतिमै उम्मेदवारी दिएका छन् । महामन्त्रीमा विराटनगरकै मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन् । उनी शेखर कोइरालाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।