नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन् ।
केन्द्रीय सदस्य (दलित खुल्ला) मा उनको उम्मेदवारी परेको थियो । पाँच पदको लागि २७ जनाको उम्मेदवारी परेको थियो । विश्वकर्माले उम्मेदवारी फिर्ता लिएसँगै २६ जना चुनावी भीडन्तमा हुनेछन् । उम्मेदवारी फिर्ता लिने समय अझै बाँकी रहेकाले निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गरेपछि मात्रै कतिजनाको भिडन्त हुन्छ भन्ने थाहा हुनेछ ।
कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र मध्यान्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उम्मेद्वारी दर्ता गराउनको लागि स्वयं उपस्थित हुनुपर्छ आफू उपस्थित हुन नसकेको खण्डमा वारेशनामा दिनुपर्ने हुन्छ । उम्मेदवारी फिर्ता लिनको लागि उनले आज सार्वजनिक गरेको पत्रमा भने उम्मेदवारी दर्ता गर्ने कुनै मनसाय नभएको बताएका छन् ।
यो उम्मेदवारी उनी आफै उपस्थित भएर १० हजारको रसिद काटेर दिएका हुन् वा वारेशनामा दिएर अन्यलाई दर्ता गर्न लगाएका हुन् भन्ने कुरा बुझ्न खोज्दा उनको मोबाइल उठेन ।
यसअगाडी उनले सहमहामन्त्रीमा लड्ने भन्दै आफ्नो प्रचार सुरु गरेका थिए तर अन्त्यमा आएर उनको नाम केन्द्रीय सदस्यको उम्मेदवारीमा देखिएको थियो ।