नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताएका छन् । उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताएका छन् ।
‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ’, उनले भने । उनले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताएका छन् । यसका साथै उनले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताएका छन् ।
बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।
पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् । पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् । पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ ।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् । निर्वाचन आयोगमा अध्यक्ष डा विजय सुब्बासहित १० सदस्य गत विधान महाधिवेशनले चयन गरिसकेको छ भने बाँकी सदस्य यो महाधिवेशनले छान्नेछ ।
एमालेका सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटीले आफ्नो कमिटीको कूल सदस्य सङ्ख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोहीअनुरुप हुनेछन् । प्रदेश कमिटी र जिल्ला कमिटीको आधार सङ्ख्या ७५ सदस्यीय हुनेछ ।
बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी विभाजन गरेको सङ्ख्यामा प्रत्येक प्रदेशबाट छ खुला तीन महिला गरी नौ जनासहित सात प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने तय गरिएको छ । उपत्यका विशेष समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, सम्पर्क समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य, तराई मधेशबाट १३ खुला र छ महिलासहित १९ सदस्य, दलित समुदायबाट आठ खुला, चार महिलासहित १२ सदस्य, थारू समुदायबाट पाँच खुला, दुई महिलासहित सात सदस्य, मुस्लिम समुदायबाट चार खुला, एक महिलासहित पाँच सदस्य, श्रमिक क्षेत्रबाट चार खुला, दुई महिलासहित छ सदस्य, पिछडिएको क्षेत्रबाट तीन खुला, एक महिलासहित चार सदस्य, खुला क्षेत्रबाट ८४ खुला ५३ महिलासहित १३७ सदस्य, केन्द्रीय आयोगहरूमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १३ खुला र नौ महिलासहित २५ सदस्य निर्वाचित हुनेछन् ।