विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा सम्मेलन गर्न नपाइने र दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ ।
तर त्यो निर्देशिकालाई बेवास्ता गर्दै मोरङमा शैक्षिक संस्था नै बन्द गरेर नेपाली कांग्रेस महाधिवेशनअन्तर्गतको निर्वाचन गरिएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालय बन्द गरेर कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन गरिएको हो । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ ले उक्त विद्यालयलाई केन्द्र तोकी निर्वाचन गर्दा विद्यार्थीहरू एक दिन भएपनि पढ्नबाट बञ्चित भएका छन् ।
निर्वाचनस्थलमा नेपाली कांग्रेस मोरङका नेता एवम् विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको समेत उपस्थिति रहेको थियो । साथै केन्द्रीय र जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा निर्वाचन भएको हो ।
विवादका कारण उक्त विद्यालयमा गरिएको निर्वाचनको मतगणना अझै सुरु हुन नसकेको बताइएको छ ।