अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीको आवश्यक प्रक्रिया अघि बढाउन बीमा समितिलाई निर्देशन दिएका छन्।
अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायत पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाई रोकिएको कोरोना बीमा भुक्तानीका लागि आवश्यक स्रोत साधन र उपायका बारेमा छलफल गरेका हुन्।
छलफलमा मन्त्री शर्माले भुक्तानीका बिषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न बीमा समितिलाई निर्देशन समेत दिएको मन्त्रालयले जनाएको छ।
सरकारकाे दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दवाब परेपछि मन्त्री शर्माले सम्बन्धित निकायका प्रतिनिधिहरुसँग छलफल थालेका हुन् ।
कोरोना बीमा दाबी भुक्तानीको विषयमा अर्थमन्त्री शर्मा सकारात्मक रहेको समितिका अध्यक्ष सिलवालको भनाई छ ।
‘अर्थमन्त्री कोरोना बीमाको दाबी भुक्तानीको विषयमा सकारात्मक हुनुहुन्छ । उहाँले विकल्प खोज्न पनि आग्रह गर्नु भएको छ ।’ समितिका अध्यक्ष सिलवालले भने ।
सरकारी स्वामित्व राष्ट्रिय बीमा संस्थानले राष्ट्र सेवक कर्मचारीको बीमा बावत सरकारबाट संकलन भएको करिब ३ अर्ब रुपैयाँ तत्कालको लागि भुक्तानी गर्न सकिने विकल्प दिएको अध्यक्ष सिलवाल बताए । संस्थानले तत्काल ३ अर्ब रुपैयाँ भुक्तानी गरे भुक्तानी गर्नु पर्ने साढे ७ अर्ब सम्म आईपुग्नेछ ।
विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।
७ वैशाख २०७७ बाट शुरु भएको कोरोना बीमामा पुँजीभन्दा दायित्व बढी भएको भन्दै रोकिएको थियो ।
कोरोना बीमामा सरकार, बीमा कम्पनी, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनीसहितले जोखिम वहन गर्ने व्यवस्था गरिएको छ। यस्तो जोखिममा पहिलो १० हजारको जीवन बीमा सम्बन्धित बीमा कम्पनीबाट, दोस्रो १० हजारकोे नेपाल पुनर्बीमा कम्पनीबाट, थप ५ हजार बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट, अर्को १० हजारको बीमा समितिको कोषबाट गरेर ३५ हजारसम्मको जोखिम वहन बीमा समिति र कम्पनीभित्रैबाट हुने उल्लेख छ।
३५ हजार भन्दा बढीको जीवनको जोखिम भने नेपाल सरकारले व्यहोर्ने गरी कोरोना बीमाले निरन्तरता पाएको थियो।