सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिने भएका छन्।
मन्त्री शाहले आफू र राज्यमन्त्री गहतराजले आजै पदबाट राजीनामा दिन लागेको जानकारी दिए। ‘म पार्टी एकताको पक्षमा उभिनुपर्यो भन्नेमा छु। संक्रीर्ण स्वार्थमा लागेर पार्टी विभाजन गर्नुहुन्न भन्ने हो,’ उनले भने, ‘त्यसैले मैले पदलाई महत्त्व नदिएर आजनै पदबाट राजीनामा दिन लागेको हुँ।’
उनले सरकारमा एमालेको तर्फबाट राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि आजै राजीनामा दिने बताए। विभाजनले नेपालको लोकतन्त्र र गणतन्त्र कमजोर हुने भन्दै उनले आफूले पदका लागि विभाजन नरोजेर एमालेलाई एकताबद्व बनाउन लागेको बताए। शाह नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता समेत हुन्। आजै मन्त्री शाह र राज्यमन्त्री गहतराजले आफ्नो राजीनामा मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ।
तत्कालीन नेकपामा दुई समूह हुँदा र एमालेको आन्तरिक विवादको समयमा दुवै माधवकुमार नेपालको समूहमा थिए। एमाले उपाध्यक्ष भीम रावलनिकट रहेका अन्य सांसद र नेताहरुले उनको साथ छाडेका बेला शाह र गहतराजले भने एमालेमै रहने निर्णय गरेका हुन्।एमालेभित्र आन्तरिक विवाद भएकै बेला केन्द्रीय कमिटी बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो।
केन्द्रको निर्णय अवज्ञा गर्दै सुदूरपश्चिममा एमालेको नेपाल निकट रहेका सांसदहरु मन्त्री भएका थिए।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत दिँदा तत्कालीन माधव नेपाल समूहमा रहेका सांसदले मत दिएका थिए।