यस वर्षको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिएका छन् ।
बोर्डले आजै नतिजा प्रकाशित गर्ने कार्यक्रम रहे पनि विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ ।
बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए ।
बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । उक्त नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।