कञ्चनपुरको बेलडाँडीबाट भारतीय तस्करहरूको समूहले लुटेर लगेका भैँसी राँगाहरूको उद्धार गरिएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै नेपाल भारत सीमा स्तम्भ नम्बर ७८७ बाट सोही ठाउँ बस्ने शिवराज उपाध्यायका छोरा १८ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई भारतबाट आएका भारतीय ५ जना तस्करहरूको समूहले शुक्रवार चराइरहेका १३ वटा भैँसी तथा राँगाहरूलाई लुटेर लगेको थियो ।
उक्त खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा १० जना, प्रहरी चौकी झिलमिलाबाट प्रहरी नायव निरीक्षक राम बहादुर बोहराको कमान्डमा ३ जना र भैँसीवाला स्थानीयहरू सहितको टोली खोजी कार्यमा खटिएको थियो ।
उक्त टोलीले तत्काल भारतीय सशस्त्र सीमा बल एसएसपी, भारतीय प्रहरी तथा टाटरगञ्ज पञ्चायतका प्रधान सतननाम सिंहसँग आवश्यक समन्वय गरी संयुक्त रूपमा खोजी गर्दै जाँदा भारतीय तस्करहरूले लुटेर लगिरहेको अवस्थामा शनिवार नेपालको सीमाबाट करिब ८ किलोमिटर टाढा भारतको पिलिभित जिल्ला टाटरगञ्ज ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटमा पुग्दै गर्दा १३ वटा मध्ये १२ वटा भैँसी राँगा फेला पारेको हो ।
सुरक्षाकर्मी सहितको टोली देख्ने बित्तिकै तस्कर समूह भागी फरार भएको र भैँसी राँगा नेपालतर्फ ल्याई सम्बन्धित व्यक्तिहरूलाई बुझाइएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ बस्ने शङ्कर थापाका २ वटा भैँसी, नवराज कठायतको १ वटा भैँसी, गोमा रावतका २ वटा राँगा, चन्द्र बहादुर रावतको १ वटा राँगा र ४ वटा भैँसी तथा तेज बहादुर रावतको १ वटा राँगा र १ वटा भैँसी फेला पारी उद्धार गरिएको छ ।
तर शिवराज उपाध्यायको १ वटा राँगा फेला नपरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।