बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।
जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रवन्धक गोरखनाथ केसीले बताए ।
उनका अनुसार बङ्गलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिकटन बाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउनेछ । सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कूल सात हजार मेट्रिकटन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन (जिटुजी)मार्फत खरीद गरेर बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल एक हजार ७ सय मेट्रिकटन, डिएपी ७६० मेट्रिकटन र पोटास ८२० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ ।
पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत् सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ ।
कतिपय विक्रेताले किसानसंग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारवाही गर्नुपर्ने मांग किसानको छ । पर्सामा ९० प्रतिशत किसान व्यवसायिक रुपमा धान खेती गर्दै आएका छन् ।