नेपाल सरकारले यही असार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै यती एअरलाइन्सले टिकट खुलेको जनाएको छ ।
एअरलाइन्सले आज एक सूचना जारी गर्दै यति र तारा एअरका उडानहरूको लागि टिकट बुकिङ खुलेको जनाएको हो । टिकट बुकिङका लागि यती एअरलाइन्सको मोबाइल एप, वेबसाइट, नजिकको सेल्स काउन्टर तथा ट्राभल एजेन्सीहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्थाको रूपमा रहेको यती एअरलाइन्सले चालक दल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी उच्च सतर्कता अपनाएर हवाई उडान सुरु गर्ने तयारी गरेको छ ।
यती एअरलाइन्सले यात्रालाई सुरक्षित राख्न हरेक प्रयोगपश्चात् वायुयान, यात्रु ओसारपसार गर्ने सवारीसाधन, ब्यागेज ट्रली तथा उपकरणको अनिवार्य निसंक्रमण गर्ने, कार्गो तथा लगेजहरुको आवश्यकताअनुसार निसंक्रमण गर्ने व्यवस्था मिलाएको जनाएको छ।