सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् ।
उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उहाँले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गर्नुभएको छ । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
“मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र÷बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ”, महासचिव पोखरेलले आज जारी गरेको अपिलमा भनिएको छ, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।”
नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए ।