जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम यथावतै रहेकाले मोरङमा जेठ मसान्तसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २४ गते राति १२ बजेदेखि लागू हुनेगरी ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
प्रजिअ निरौलाका अनुसार मोरङमा कोरोना सङ्क्रमणको दोस्रो लहरको नयाँ कोभिड भेरियन्ट दैनिक रूपमा बढिरहेका कारण निषेधाज्ञा लम्ब्याइएको हो ।
‘विराटनगर महानगरपालिकालगायत जिल्लाका सबै पालिकाहरूमा यसको सघन विस्तार भएपनि कोभिडका कारण नागरिकको दैनिक मृत्युसमेत भइरहेको छ’, उनले जारी गरेको आदेशमा भनिएको छ, ‘यसर्थ तीव्र रूपमा फैलिरहेको कोभिड सक्रमणको रोकथाम र नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिएको हो ।
यस अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डण्डीलगायतका सामाग्री बिक्री गर्ने पसललगायत अत्यावश्यक सामाग्री आपूर्ति गर्ने पसल भौतिक दूरी कायम गरी, मास्क र सेनिटाइजर र व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री प्रयोग गरी बिहान ६:०० बजेदेखि विहान १०:०० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
यस्तै, उक्त समयमा अत्यावश्यक खाद्यवस्तु, पशु आहार, दाना ओसारपसार तथा बिक्री वितरण गर्न पाइने छ । औषधि पसल, अक्सिजन तथा स्वास्थ्य सामग्री पसल तथा पेट्रोल पम्पहरू नियमित रूपमा सञ्चालन गर्न पाइनेछ भने दूध तथा दुधजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यसैगरी, भिड नगरीकन र दूरी कायम गरी बिहान १० बजेसम्म पुस्तक पसलहरू सञ्चालन गर्न, डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू, दूरसञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरू, सरसफाइकर्मीहरू, अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरू, तोकिएका बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरू, कृषि कार्यमा खटिने जेटी, जेटिए र प्राविधिकहरू परिचयपत्र प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।
यसैगरी, सरकारी कर्मचारीहरूले कार्यालय आउन र कार्यालय समयपश्चात फर्कन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्नेछन् भने अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, सञ्चार, खानेपानी, बैंक तथा वित्तीय संस्था, फोहोरमैला ब्यवस्थापन, खाद्यान्न, तरकारी, फलफूल, पशु–आहार तथा दाना, दूध, ईन्धन सेवा, औषधि, एम्वुलेन्स सेवा तथा बिरामी बोकेको गाडी, शव वाहनहरू निर्वाध सञ्चालन गर्न पाइने छ ।
अत्यावश्यक खाद्यवस्तु, पशु आहार, कृषि मल, माछा तथा कृषि र पशुपालनसँग सम्बन्धित सबै सामानको ओसारपसार, ढुवानी नियमित रुपमा गर्न पाइनेछ भने सबै किसिमका कृषिजन्य उत्पादन, मासुजन्य पशुपन्छी (राँगा, खसिबोका, हाँस, कुखुरा ) आदिको ओसारपसार गर्न दिइने छ ।
कूटनीतिक नियोगका सवारी साधन, पत्रपत्रिका वितरण गर्न प्रयोग हुने सवारी साधन, डाँक, हुलाक तथा कुरियर सेवाका सवारी साधनहरु सञ्चालन गर्न दिइनेछ भने बिरामीहरुलाई डाक्टरको प्रेस्क्रिप्सनको आधारमा स्वास्थ्य संस्थामा उपचारका लागि जान, आउन बाधा नपर्ने प्रशासनले जनाएको छ ।