कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको पुतला दहन गरिएको छ ।नेकपा माओवादी केन्द्रनिकट भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) र अखिल क्रान्तिकारीका कार्यकर्ताले आइतबार घोडाघोडीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला दहन गरेको हो ।
उनीहरूले बजेटमा ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेको बताएका छन् । यस्तै, महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएकाले उनको पनि पुतला दहन गरिएको वाईसीएल नेपाल प्रदेश कमिटी सदस्य रमेश आचार्यले बताए ।
प्रदर्शनकारीहरूले ‘केपी–विद्या मुर्दावाद’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘नागरिकता विधेयक खारेज गर’, ‘चुरे बेच्ने कार्यक्रम खारेज गर’, ‘विखण्डनकारी महतो मुर्दावाद’, ‘विखण्डनकारी महतोलाई कारबाही गर’, ‘दलाल सरकार मुर्दावाद’लगायतका नारा लगाएका थिए ।