केही क्षण सँगै हिडम, छुट्टिनु त छँदै छ नि
हावाले फोक्सो रुझाउन्जेल सम्म
मुटुको धड्कन रोकिन्जेल सम्म त्यतिन्जेल मात्र
सँगै हिडम न हामी छुट्टिनु त छँदै छ नि ।।
तिमी अघि बढ्दा,मेरो हात समाउनु
तिमी पछि पर्दा, म हात समाउला
दुवै अघि बढ्दा, रमाउन्जेल सम्म रमाउला
दुवै पछि पर्दा,दुखी हुन्जेल सम्म हौंला
त्यतिन्जेल सम्म सँगै हिडम न हामी छुट्टिनु त छँदै छ नि ।।
दोभान हुँदै समुन्द्रसम्म पुगुन्जेल
बाटोमा ठोकिँदै,रोकिँदै,सँगसँगै बगौँ न हामी
किनाराहरुमा सँगसँगै रोकिउँला
भेलहरूमा सँगसँगै बगौँला
त्यतिन्जेल सम्म सँगै हिडम न हामी छुट्टिनु त छदै छ नि ।।
यात्रा मा यात्री गन्तव्य पुगुन्जेल
वसन्त देखि शिशिर सम्म
पलुवाहरूमा फल लागुन्जेल
वर्षात को झरी ले मन रुझाउन्जेल
सँगै हिडम न हामी छुट्टिनु त छँदै छ नि।।
हाँस्दा हाँसुन्जेल, रुँदा आँसु पूछुन्जेल।
कलम को अन्तिम अक्षर अनि
कपी को अन्तिम लाइन सम्म
सँगै हिडम न हामी छुट्टिनु त छदै छ नि।।
एक दिन त बिर्सनु नै छ, त्यो दिन सूर्य ले उदाउन बिर्सनेछ
हावाले बहन बिर्सनेछ आँखाले देख्न बिर्सनेछ
मुटु ले धड्कन बिर्सनेछ त्यतिन्जेल सम्म मात्रै
सँगै हिडम न हामी छुट्टिनु त छदै छ नि।।