पहिलेको वर्ष झै यो वर्ष पनि कोरोनाको उच्च जोखिमको बीचमै भएपनि आफू डराई-डराई जुम्लाका किसानहरु कोरोनाको को प्रवाहनै नगरी आफू र आफ्ना परिवारको ज्यान भैपरी आउने भोकमरीबाट बच्न र बचाउनको लागि संसारकै उच्च स्थानमा पाइने जुम्ली मार्सी धानको रोपाइ जुम्लामा सुरु भएको छ। चैत महिनामा राखेको बेर्ना बाट कालो मार्सी धान को बिउ निकालेर वैशाखको अन्तिम वा जेष्ठकाे पहिलो हप्ता देखि नै खेतमा रोप्ने गरिन्छ।
जिल्लाको एक चन्दननाथ नगरपालिका र ७ गाउँपालिका ( सिंजा, कनकासुन्धरी ,तिला,हिमा ,तातोपानी, गोठीचौर) र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ ।
प्रत्येक वर्ष चैतको १२ गते काली मार्सी धानको बीउ भिजाइन्छ । चार दिनसम्म भिजाएर राखेपछि १६ गते बाहिर निकालिन्छ र यसलाई पखालिन्छ र फेरुवा अर्थात उनको कपडामा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुन पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । फेरि त्यसलाई चार दिनसम्म तातो हुने ठाउँ अथवा भान्सा वा आगोको नजिक न्यानो पारेर कपडा र भुसपातले छोपेर बिहान बिहान पानी दिँदै राखिन्छ । त्यसरी बिउ उम्री सकेपछि प्रत्येक वर्ष चैतको २० गते मात्रै चन्दननाथ बाबालाई सम्झेर (खेतमा पूजा गरेर )बिउ को बेर्ना (ब्याड) राखिन्छ ।
त्यसरी बिउ तयार भएपछि जेठमा रोपिन्छ । असारमा गोडिन्छ र कात्तिकमा ढालिन्छ ( काटिन्छ)। १, २ दिन सुकाएर हातैले झरिन्छ र त्यस पछी खेतबाट घर मा भित्र्याइन्छ।यसरी मार्सी धान तयारी हुन्छ। त्यस पछि एक दिन मार्सी धानलाई घाममा सुकाइन्छ अनि ओखलमा लगेर कुटे पछी मार्सी चामलको भात पकाउन तयार हुन्छ।
धान काट्न विशेष दिन पारिन्छ ।जुम्लामा बुधबार या शुक्रबार पारेर मात्रै धान काट्न शुरु गर्ने चलन छ । जम्मु काश्मिरबाट बिउ ल्याएर बुटी दिएबापत प्रत्येक वर्ष गुरु महाराज चन्दननाथ बाबालाई मार्सी चामल चढाएपछि मात्र आफूले खाने गरिन्छ।
जुम्लामा मार्सी धानकाे बेर्ना एवं धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती पनि प्रचलित छ ।
पौष्टिकताले भरिपूर्ण मानिने र एकपटक खाएपछि धेरै बेर सम्म भोक नलाग्ने मार्सी धान जुम्ला लगायतको उच्च भूभागमा झण्डै ८ महिना समय लिएर उत्पादन हुन्छ।
जुम्लामा धान खेती बेशी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ । यो धानबाली संसारको सवैभन्दा उच्च स्थान (२७ सय ९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा फल्छ ।
यो धानको चामलमा आइरन, स्टार्च लगायतका पौष्टिक तत्वका साथै फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ । स्वाद र स्वास्थ्यका हिसाबले मार्सी धानकाे चामल निकै महत्वपूर्ण मानिन्छ ।
खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ ।
हिजो राजा, राणाहरूलाई भात खुवाउन जुम्लाले करस्वरूप मार्सी चामल दरबारमा पठाउँथ्यो । जंगबहादुर राणादेखि मोहन शमशेरसम्मको जिउनारका लागि हुलाकमार्फत मार्सी चामल दरबारमा पठाइन्थ्यो । जुम्लाबाट मार्सी धान लिनकै लागि हुलाकको स्थापना गरिएको थियो ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले एकै टेबलमा बसेर मार्सी चामलको भात खाएको समाचार बाहिर आएदेखि झन् मार्सी चामल एका एक प्रख्यात भएको छ।
हिजो राजा राणादेखि ओली र दाहालसम्मलाई रिझाउने मार्सीको संरक्षण र प्रवद्र्धनमा हामी लागेका छैनौँ । नयाँ पुस्ता कृषिकर्ममा रमाउन सकिरहेको छैन ।
संसारको अग्लो स्थानमा धान फल्ने ठाउँ जुम्ला भनेर हामी सामान्य ज्ञानमा पढ्छौँ । तर, जुम्लामा धान फल्छ भनेर धेरैले पत्याउँदैनन् । धान उत्पादनको फरक संस्कृति प्रवद्र्धनमा न राज्य अग्रसर छ, न त स्थानीय तह र अन्य सम्बन्धित निकाय नै ।
अब हामी सबै मिलेर मार्सी धानकाे उत्पादन ,संरक्षण र प्रवद्र्धन तिर पनि ध्यान दिन जरुरी छ।
(✍️ जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । उनले साहित्यिक र समसामयिक बिषयमा कलम चलाउन रूचाउँछन्। )