कैलालीमा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै सरोकारवालाहरूले लकडाउन गर्न स्थानीय प्रशासन समक्ष आग्रह गरेका छन् ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमणलाई नियन्त्रण बाहिर जान नदिन समयमै लकडाउन गर्न सुझाव दिएको हो ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले कोरोना रोकथामका लागी लकडाउन नै प्रभावकारी विकल्प भएको बताए । अवस्था विकराल हुँदै गइरहेको छ,अध्यक्ष कुँवरले भने,‘हामी सँग सङ्क्रमितको उपचारका लागी स्वास्थ्य पूर्वाधारहरू छैनन्,त्यसैले अहिले नै लकडाउनमा जान उपयुक्त हुन्छ।’
भारतबाट आउने सबैलाई परीक्षणको दायरामा ल्याउन अत्यन्त जरुरी छ,उनले थपे,‘सङ्क्रमितहरूलाई आइसोलेसनमा र रिपोट नेगेटिभ आउनेहरूलाई परीक्षण पछि मात्रै घर पठाउनु पर्छ।’
कोरोना सङ्क्रमण समुदाय स्तरमै पुगिसकेको सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर निराजनदत्त शर्माले बताए । सङ्क्रमण र मृत्युदर तीव्र छ,उनले भने,‘समयमै सङ्क्रमण नियन्त्रण गर्न सकिएन भने विकराल अवस्था आउँछ।’
सङ्क्रमितले अस्पताल भरिभराउ हुन थालेका छन्,उनले थपे,‘आइसियुमा बेड पाउनै गाह्रो भइसकेको छ । अस्पतालमा उपकरण भएर मात्रै हुँदैन तिनलाई प्रयोगमा ल्याउने दक्ष जनशक्ती पनि चाहिन्छ त्यो हामी सँग छैन।सङ्क्रमितको उपचारका लागी जनशक्ति थप्न पनि आवश्यक छ।’
‘छोटो समयका लागि भए पनि लकडाउन गर्न आवश्यक रहेको बताउँदै डा।शर्माले सिमानाका बन्द गरेर ठाउँ–ठाउँमा होल्डीङ सेन्टर र आइसोलेसन तयारी अवस्थामा राख्नुपर्दछ।’
सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापाले सक्रिय सङ्क्रमितको संङ्ख्या बढ्दै गइरहेकाले लकडाउन गर्न आवश्यक रहेको बताए । ‘लकडाउनको विकल्प छैन,सङ्क्रमणबाट बच्न सबैले सचेतना अपनाउनुपर्छ’,उनले भने।
सरोकारवालाहरू सँगको छलफलमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले अवस्था अनुसारको व्यवस्था गरिने बताए । सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ,अवस्था नियन्त्रण भन्दा बाहिर जान नदिन हामीले एक साताका लागी निषेधाज्ञा अथवा लकडाउन गर्छौँ।’
आवश्यक तयारी गरेर केही दिनमै निर्णय गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।