सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भरिएको छ । ५५ शय्याको अस्पतालका सबै बेड भरिएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए । अहिले ३ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ७ जना छन् अन्य सबैलाई उच्च निगरानीमा राखिएको उनले बताए ।
अहिले ५२ जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य ३ जनामा पनि संक्रमण हुन सक्ने आशङ्का सहित उपचार भइरहेको छ । जटिल सङ्क्रमितहरूको मात्रै उपचार हुने अस्पतालमा बेड भरिएपछि थप समस्या हुने देखिएको छ ।
‘अब हामी तत्काल कसैलाई भर्ना गर्न सक्दैनौँ,’ सूचना अधिकारी श्रेष्ठले भने ‘सबै बेड भरिएका छन् ।’ दोस्रो लहरको कोरोना फैलिएसँगै कैलालीका ५ जनाको मृत्यु भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन् ।