कोभिड–१९ को जोखिम बढेपछि धनगढी उप–महानगरपालिकाले भिन्न वडाका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ ।
धनगढी उप–महानगरपालिकाले बार अनुसारको सेवा वैशाख १२ गते देखि लागु हुने बताइएको छ । अति आवश्यक सेवाका लागि भने बार पर्खिनु नपर्ने नगरप्रमुख नृपबहादुर वडले केटिएम दैनिकसँग बताए ।
कोरोना जोखिमका कारण उप–महानगरपालिका कार्यालयमा हुने भिडभाड घटाउन बार अनुसारको सेवा लिने व्यवस्था मिलाइएको हो नगरप्रमुख वडले भने, ‘वडाहरूमा सेवा नियमित दिइने छ ।’
धनगढी उपमहानगरपालिका वडा नं १४, १८, र १९ का सेवाग्राहीका लागि आइतबार तोकिएको छ । त्यसै गरी १२, १५, १६, १७ को सोमबार, १, २, ८ को मङ्गलवार, ७, ९, १० र १३ को बुधवार, ५, ६, ११ को बिहीबार र ३, ४ नम्बर वडाको शुक्रवार सेवा लिने पालो निर्धारण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाबाट बार अनुसार प्रवाह हुने सेवाका बारेमा नगरवासीलाई जानकारी दिन र सोही अनुसारको व्यवस्था मिलाउन कर्मचारीहरूलाई निर्देशन दिइएको छ ।