धनगढी कैलालीको गौरीगगा नगरपालिका स्थित शिबसकंर सामुदायिक वनमा भरुवा बन्दुक पड्केर एक जना घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर ७ मा २ जना सिकार खेल्ने क्रममा बन्दुक पड्केर एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौरीगगा नगरपालिका वडा नम्बर ९ शंकरपुरका ईन्द्र बहादुर बिक रहेका छन् ।
उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले केटिएम दैनिकसँग बताए । त्यस्तै उनीसगै सिकार खेल्न गएका वडा नम्बर ९ मौलीयाका वीरबहादुर थापामगर पक्राउ परेका छन् ।
उनलाई बारबोर २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए । थापामगरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।