संसदीय समितिका निर्देशन र निर्णय सरकारले कार्यान्वयन नगरेको गुनासो गर्दै प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यले समितिका निर्देशन लागू गर्न सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्। पुरातात्त्विक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रका सम्बन्धमा छलफल गर्न आयोजित समितिको आजको बैठकमा विपक्षी दलका मात्र नभई सत्तापक्षका सांसदले पनि सरकारबाट आफैँ भएका निर्णयसमेत कार्यान्वयन नभएको आरोप लगाए ।
समितिका सभापति पवित्रा निरौलाका अध्यक्षतामा भएको बैठकमा सदस्यले प्राकृतिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले विश्वकै प्रमुख पर्यटकीय गन्तव्य नेपालको पर्यटन प्रवद्र्धनमा सशक्तरूपमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।
उनिहरूले पर्यटकीय क्षेत्रको विकास तथा त्यसबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचान, विकास एवं पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउनुपर्ने बताएका छन्।