देशको सबैभन्दा पुरानो विद्यालय दरबार हाई स्कूललाई चिनियाँ सरकारले शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । विसं २०७२ को भूकम्पबाट भत्केको उक्त विद्यालयको भवनको पुनर्निर्माण पनि चीन सरकारबाट नै भएको हो ।
चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा यहाँस्थित चिनियाँ राजदूतावासले पोशाक, १० हजार थान मास्क, ५ सय लिटर स्यानिटाइजर, १ हजार ५०० कपी, दुई बाकस सन्दर्भ पुस्तक, बास्केट बल, टेबलटेनिस, ब्याटमिन्टनका लागि आवश्यक पर्ने ब्याट, य्राकेटलगायत सामग्री उपलब्ध गराएको हो ।
यसअघि पनि चिनियाँ दूतावासले उक्त विद्यालयलाई फर्निचरलगायत सामग्री सहयोग गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा शैक्षिक सामग्री हस्तान्तरण गरे ।