अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।
संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
उनले अन्य निकायहरुमा पनि नियुक्ती सिफारिसको निर्णय भएको बताएका छन् ।
‘निर्णय सार्वजनिक भयो कि भएन मलाइ थाहा छैन तर नियुक्तीको निर्णय ३० गते भएको हो’, तिमिल्सिनाले भने, ‘रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्ती भएका छन्।’
सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो। तर उक्त निर्णय गोप्य राखिए पनि आइतबार संसदीय सुनाइका लागि सिफारिस पत्र संसद सचिवालयमा पुगेको छ।
यससँगै संसदीय सुनुवाइ विना नै राई अख्तियारमा नियुक्त बन्ने भएका छन् । कानुन अनुसार राईको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने थियो । तर आइतबार संघीय संसद नै विघटन भएको छ ।
४५ दिनसम्म सुनुवाई नभएमा स्वत : राष्ट्रपतिद्वारा नियुक्त हुने प्रवधान छ।
अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। उनले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न स्विकृत गरेको केही समयपछि अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस भएको समाचार सार्वजनिक भएसँगै यसले राजनैतिक वृतमा थप तरंग पैदा गरेको छ ।