बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले निर्माणाधीन बहुजातीय संग्रहालय सहितको झापा नाटक घरका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । सहकारी संस्थाको आठौं वार्षिक उत्सवका अवसरमा नाटक घरका लागि शनिबार उक्त रकम सहयोग गरिएको हो ।
क्षितिज नाट्य समूहको अग्रसरतामा झापाको बिर्तामोड(१ देवीपञ्चकन्या उत्तरमा झापा नाटक घर निर्माण भइरहेको छ । स्थानीय मनोज निरौलाले निःशुल्क दिएको साढे तीन कठ्ठा जग्गामा नाटकघर निर्माण भइरहेको हो ।
नाटकघर परिसरमा आयोजित कार्यक्रमका बीच सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले नाटकघर निर्माण संयोजन समितिका अध्यक्ष ज्ञानुराम प्रसाई र नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका सचिव दिपेश धौराली, लेखा समितिका सदस्य यामनाथ खरेल, सञ्चालक सदस्यहरु हेमराज मिश्र र भगिरथा थापा लगायतको सहभागिता रहेको थियो ।
चेक हस्तान्तरण गर्दै सहकारी संस्थाका अध्यक्ष न्यौपानेले झापा नाटकघर पूर्वको एउटा नमूना हुने बताउँदै सहयोगकालागि सबैलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि निर्माण समितिका संयोजक प्रसाईले बिर्तामोडको एउटा गौरव गर्न लायक योजनाका रूपमा झापा नाटक घरको निर्माण अघि बढेको बताए ।
कार्यक्रममा स्थानीय कमलसरि राजवंशीले नाटकघर निर्माणका लागि ५१०० रुपैयाँ सहयोग गरेकी छन् । उनले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गर्दै किस्ताबन्दी रुपमा सहयोग रकम हस्तान्तरण गर्ने बताइन् ।
क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले भाषा, कला र साहित्यको संरक्षण र विकासका लागि आफूहरुले पहल सुरु गरेको जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी तथा आमन्त्रित स्रष्टाहरूले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव डिल्लीराम परदेशीले गरेका थिए ।