दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या सात सय बढी छ ।बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्फ साकिनी, उल्टे, घाँटीखुइले र गुजुमुजे कुखुरा छन् । आयातित प्रजातिमा कडकनाथ, बेन्टम, सिल्की र पोलिस कुखुरा छन् ।
यस्तै चरा प्रजातिका बट्टाइ र टर्की पनि पालिएको छ । कडकनाथ भारतीय, बेन्टम जापनीज र सिल्की चिनियाँ प्रजातिको कुखुरा भएको उनी बताउँछन् । “बेन्टम, सिल्की र पोलिस बढीजसो सौखका लागि पाल्ने चलन भएको उनी बताउँछन् ।
महिनादिन पुगेका पोलिस र सिल्की कुखुराको जोडीलाई पाँच हजार पर्ने उनको भनाइ छ । यस्तै दुई महिनाका जापनीज बेन्टम कुखुराको जोडीलाई रु. चार हजार पर्छ । “यी कुखुराको चल्ला नै एकदम महँगो छ, हेर्दा पनि आकर्षक हुने हुनाले सौखिन व्यक्तिले घरमा लगेर पाल्छन्” ।स्थानीय जातका कुखुरासँगै कडकनाथ, बट्टाइ र टर्की भने मासुका लागिसमेत फार्मबाट बिक्री भइरहेको छ । भारतीय जातको कडकनाथ प्रतिकिलो दुई हजारसम्म बेचेको उनी बताउँछन् । कडकनाथको अण्डासमेत महँगोमा बिक्री हुन्छ । यो कुखुरा स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ ।
स्थानीय जातको ज्यूँदो कुखुरा प्रतिकिलो रु. आठ सय, अण्डा रु. १५ र एक साताको चल्ला रु. एक सय २५ मा बिक्री हुन्छ । स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच-छ महिनापछि मात्र बेच्न योग्य हुन्छ ।