कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ । नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो ।
नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार बीमा कम्पनीसँग सम्झौता गरेकी हुन् । “बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्नेछ”, उनले भनिन् । उनले कार्यक्रमको शुरुआत गर्दै ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गरेकी हुन्।
सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन् । नगरभित्रका ४०० महिलाको रु १ लाख बराबरको कोभिड–१९ बीमा गरिनेछ ।
बनेपा नगरपालिकामा हाल नगरमा सक्रिय संक्रमित महिला ४० र ६६ पुरुष गरी जम्मा १ सय ६ कोरोना संक्रमित रहेका छन् ।
यसअघि काभ्रे जिल्लाको पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर लामाले एकल महिलाको आफैले निःशुल्क कोभिड–१९ बीमाको प्रक्रिया थालेका थिए । लामाले आफ्नो क्षेत्रमा पहिचान भएका १ सय २८ एकल महिलाको निःशुल्क कोभिड–१९ बीमा गरेका छन् ।