भाद्रशुक्ल पञ्चमीलाई ऋषिपञ्चमी व्रत भनिन्छ। याे व्रत मध्याह्ण व्यापी हाे । खास गरी याे व्रत नारीहरू पर सरेका वेलामा जान- अनजानमा भएका पापहरूकाे नाश गर्नका लागि गरिन्छ। यस बारे भविष्याेत्तर पुराणमा यस्ताे वचन छ।
अज्ञानाद् ज्ञानताे वापि नारी जाता रजस्वला । दुष्टा स्पृशति भाण्डानि गृहकर्मणि संस्थिता । प्राप्नाेति सा महापापं सर्वनारीरजस्वला।।
अघि इन्द्रले वृत्त्रासुरलाई मारेपछि उनलाई ब्रह्महत्या लाग्याे। अनि यसबाट कसरी छुट्कारा पाउने भनेर ब्रह्माजीमा शरणमा गए। ब्रह्माजीले ब्रह्महत्यालाई चार भाग लगाएर बाँडिदिनुभयाे। यस बारे भविष्याेतर पुराणकाे वचन यस्ताे छ ।
वह्नेः प्रथमजातासु ज्वासु च नदीषु च । पर्वतेषु च राजेन्द्र नारीरजसि पार्थिव।
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि भोली आइतबार ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू (गलत कृयाकलाप) छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।
रजश्वला नै सृष्टिको सुरुआत मानिने भएकाले हाम्रो परम्परामा यस अवधिमा भए/गरेका गल्तिहरुबाट मुक्ति पाउनको लागि यो ब्रत महत्वपूर्ण मानिन्छ ।
तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।
ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा गई दतिवनले दाँत माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दान दक्षिणा आदि दिने प्रचलन छ ।
अझ गाउँघरतिरको परम्परा त तीजको दिन महिलाले आफ्नै तरिकाले मनदेखि ब्रत बसेर पूजा गरी, चतुर्थीको दिन पनि आफ्नै तरिकाले ब्रत पूजा गरी यो अन्तिम दिन अर्थात् ऋषिपन्चमीको दिन ब्राह्मण बोलाई वा समूहमा जम्मा भई विधिपूर्वक अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गरी गुरु पुरोहितहरुद्वारा तीजको कथा, चौथी दोषको कथा (भाद्र शुक्ल चतुर्थीको चन्द्रमा हेर्नु हुँदैन हेरेमा चोरेको आरोप आदि लाग्न सक्छ) र ऋषिपन्चमीको कथा श्रवण गर्ने चलन छ ।
त्यसै कारणले पनि यो अन्तिम दिन पन्चमीको पूजा गरी तीजलाई विदा गर्ने चलन रहिआएको छ । तर अहिले त कस्तो भयो भने कसैलाई देखाउनका लागि जस्तै गरी ब्रत बस्ने, मन्दिर गएँ भनेर फोटो खिच्नु पर्ने, तिथि न मितिसँग ब्रत बस्ने देखावटी चलन बढ्दै गएको छ, यसले न त हाम्रो सँस्कार जोगिन्छ न त गर्नेले फल नै पाउँदछ ।