यसपाली काठमाडौं उपत्यकाभित्र तीज मनाउन नपाइने भएको छ । संक्रमणको जोखिम बढ्दै गएका कारण भदौ १५ सम्मको लागि उपत्यकाका तीनै जिल्लामा भीडभाड हुने खालका गतिविधिमा रोक लगाइएको छ।
तीनै जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को संक्रमण जोखिमयुक्त देखिएका गतिविधिमा निषेध गरेको छ ।
जारी आदेशमा भेला हुन, जम्मा हुन, भीडभाड गर्न नपाइने भनिएको छ । त्यसैगरी चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्यमा जमघट गर्न नपाइने भनी सूचित गरिएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरूमा रोक लगाइएको छ ।
भदौ १५ सम्म यस्ता गतिविधिमा गर्न नपाउने भएपछि भदौं ४ गतेदेखि ७ गतेसम्म परेको तीज पर्वमा रमझम नहुने भएको हो ।
तीजका अवसरमा आयोजना गरिने दर पार्टी, मन्दिरमा गएर पूजाआजा गर्ने, जमघट गरेर नाचगान गर्ने जस्ता सबै गतिविधि गर्न नपाइने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो ।
यस्ता गतिविधि गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था अनुसार कारबाही हुने प्रजिअ पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार अटेर गरेमा एक महिनासम्म कैद हुनेछ। घरमै बसेर सधैँ सँगै रहने परिवारका बीचमा बसेर भने तीज मनाउन पाइने उनले बताए।