
उदयपुर । स्थानीय निकायले नागरिकको चाहना र आवश्यकता अनुसारको काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला एक स्थानीय तहकी जनप्रतिनिधिले तीब्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामाको घोषणा गरेकी छिन् ।
उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि पोख्दै पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।
उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेखेर जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी छिन् ।
‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु । कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुई तिहाइ सरकार १’ उनले सरकारप्रति तीब्र असन्तुष्टि जनाएर राजीनामा दिने घोषणा गरे पनि असन्तुष्टिको विषय के थियो भन्ने कुरा स्पष्ट खुलाएकी छैनन् ।
चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन् । नगरपालिकामा कर्मचारीको विषयमा विवाद रहेको स्रोतले जानकारी दिएको छ । यता बेलका नगरपालिकाको फेसबुक अकाउन्टबाट पनि उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेको जानकारी गराइएको छ ।