
बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन् ।
क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ । जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आपत्तिजनक घटना घटन गएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ ।
क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आपत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ल भएको हो ।
बिहिबार बिहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घटनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई सम्झाइएको बताइएको छ ।
त्यसपछि मध्यरातको समयमा गलत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीए कार्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ । क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ ।
तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा मा.वि.को क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन ।
उक्त घटना घटेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा आज विहान पठाइएको स्रोतले बताएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मीको एक टोली दुई महिना पहिले नै कोरोना जोखिमको न्यूनीकरण र सुरक्षाको लागि भन्दै बुर्तिबाङको उत्तरगंगा मा.वि.को विद्यालय भवनमा बस्दै आएको छ । अहिले उक्त क्वारेन्टिनमा ६ जना महिला सहित ४४ जना भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएका छन् ।
कोरोना संक्रमणको समयमा जनतालाई सहजीकरण गर्ने र थप सुरक्षा दिने भनेर खटिएका जिम्मेवार व्यक्तिबाट नै क्वारेन्टिनमा बसेकामाथि गरिने यस खालको हर्कतले स्थानीयबासी र क्वारेन्टिनमा बसेकाहरुले समेत असुरक्षाको महसुस गर्दै आएका छन् ।
आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय कार्वाहीले बाँध्ने हो ? त्यो भने कसैलाई थाहा छैन । बरु घटनालाई नै गोप्य राख्ने प्रयास गरिएको देखिन्छ । तर यो घटनाले बुर्तिबाङमा सुरक्षा चुनौती थपिएको र क्वारेन्टिनमा बस्ने कोरोनाका संभावित संक्रमितहरु समेत असुरक्षित रहने अवस्था आएकोमा यस घटनाले स्थानीयबासीलाई समेत चिन्तित बनाएको छ ।