
दोहा : कतारमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७९ जना नयाँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमितको संख्या १५ हजार ५ सय ५१ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १ हजार ६ सय ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म १२ जनाको मृत्यु भैसकेको छ । अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएको दूताबासले जनाएको छ । कतारमा करिब लाखको हारहारीमा नेपाली श्रमिक कार्यरत छन् ।
यस्तै, कुवेतमा आइतबार थप ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नया तथ्यांक अनुसार ६ नेपालीसहित ३ सय ६४ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ४ हजार ९ सय ८३ पुगेको छ ।
अहिलेसम्म १ हजार ७ सय ७६ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ३८ जनाको मृत्यु भैसकेको छ । संक्रमित नेपालीहरु सबैको सामान्य अवस्थामा उपचार भैरहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । कोरोना सङ्क्रमित सबैको उपचार कुवेत सरकारले नै आफ्ना नागरिक सरह नै गरिरहेको दूताबासले जनाएको छ ।