
काठमाण्डौ – नेपाल टेलिकमले आफ्नो मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई आइतबारदेखि फेरी परिवर्तन गरेको छ ।टेलिकमले आइतबारदेखि विदेशबाट आएका नागरिकलाई परिवारबाट छुट्टै अर्थात् अनिवार्य क्वरेण्टीनमा बस्न रिङब्याक टोनमार्फत सन्देश दिएको छ ।यसअघि टेलिकमले कोरोना भाइरस (कोभिड १९) बाट बच्न साबुन पानीले बारम्बर हात धुन र खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्न सन्देश सहितको रिङब्याक टोन तयार गरेको थियो । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ ।
अहिले सम्म नेपालमा भेटिएका पाँच जना कोरोना सङ्क्रमित विदेशबाट आएको पाइएकाले सरकारले विदेशबाट आएका सबैलाई १४ दिन अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न अनुरोध गर्दै आएको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु र श्वास फेर्न समस्या हुनु कोरोनाका लक्षण हुन् । यी लक्षण देखिए तत्काल अस्पताल जान सरकारले आग्रह गर्दै आएको छ ।