काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले वार्ताका लागि पठाएको टोलीसँग छलफल गर्न अस्वीकार गरेका छन्।
बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई उनले आफ्ना सर्त र अडान सुनाउँदै फिर्ता पठाएका हुन्।
डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग मात्रै वार्ता गर्ने स्पष्ट पारेका छन्। यसअघि २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिमा दुई सचिवले हस्ताक्षर गरे पनि राजनीतिक नेतृत्वले त्यसको अपनत्व नलिँदा कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
उनले विगतका सहमति तथा अब हुने सहमितिसमेत कार्यान्वयन गर्ने अधिकार प्राप्त राजनीतिक नेतृत्वको टोलीसँग मात्रै वार्तामा बस्ने बताएका छन्।
त्यस्तै, नयाँ वार्ता सुरु गर्नुअघि अघिल्लो सत्याग्रहका क्रममा सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने उनको पूर्वसर्त छ।
सरकारी वार्ता टोलीलाई आफ्नो अडान स्पष्ट पार्दै डा. केसीले पुराना सहमति कार्यान्वयन नभएसम्म नयाँ वार्ता अघि बढ्न नसक्ने बताएका छन्।