काठमाडौं । काठमाडौं गोर्खाजका कप्तान करण केसीले टोलीका सात जना नेपाली खेलाडीमा नै जित दिलाउने क्षमता रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई हराएपछि उनले विदेशी खेलाडी आउट भए पनि नेपाली खेलाडीले जित दिलाउने विश्वास रहेको बताए ।
१६० रनसम्मको लक्ष्य बन्ने अनुमान गरे पनि बलिङमा केही गल्ती हुँदा कर्णालीले ठूलो लक्ष्य दिएको करणले बताए । यद्यपि, पिच राम्रो रहेकाले १८१ रनको लक्ष्य पछ्याउन सकिने विश्वास आफूहरूमा रहेको उनको भनाइ थियो । साना साझेदारी र राशिद खानको इनिङका कारण जित सम्भव भएको उनले बताए ।
कर्णालीका कप्तान सोमपाल कामीले निकालेको नतिजाजस्तै जित निकाल्दा खुसी लागेको करणले बताए । कर्णालीले पनि त्यस्तै हारको स्वाद चाखेको भन्दै उनले ठट्यौली गरे । उनले आफ्नो जिम्मेवारीअनुसार टोलीलाई जिताउन भूमिका खेलेको बताए ।
राशिदले बलिङमा अपेक्षाअनुसार गर्न नसके पनि ब्याटिङमा राम्रो गरिरहेको करणको भनाइ थियो । आगामी खेलमा थप सुधार हुने उनले विश्वास व्यक्त गरे । विश्वकप विजेता टोलीका सदस्य डेविड वार्नरसँग खेल्न पाउनु महत्वपूर्ण रहेको बताउँदै उनले वार्नरजस्ता खेलाडीसँगै महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागी हुन पाउनु टोलीका लागि राम्रो पक्ष भएको बताए ।
कर्णाली याक्सका अरिफुल इस्लामले टोलीको आवश्यकताअनुसार पावरप्लेमा रन जोड्न सक्नु खुसीको क्षण भएको बताए । टी–२० क्रिकेटमा पावरप्लेको रन महत्वपूर्ण हुने उल्लेख गर्दै उनले राम्रो सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्न नसकेको बताए । प्रशिक्षकले गरेको विश्वासअनुसार खेल्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।
बंगलादेशी ब्याटर अरिफुलले नेपालमा क्रिकेटको राम्रो माहोल रहेको बताए । यस्तो वातावरणले क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको धारणा थियो ।