काठमाडौँ । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा प्राविधिक समस्या देखिए पनि सार्वजनिक सेवा प्रवाहमा अवरोध नहुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ ।
विभागले आइतबार सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभएका नागरिकले पनि राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा नियमित रूपमा प्राप्त गर्न सक्ने जनाएको हो ।
विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सेवाग्राहीलाई सेवा प्रवाह नरोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचयपत्र नम्बर जारी गर्ने काम नियमित भइरहेको छ । तर, विवरण प्रमाणीकरणका लागि आवश्यक स्वचालित बायोमेट्रिक सूचना प्रणाली (एबीआईएस) को क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो ।
गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई नम्बर प्राप्त गरेका नागरिकमा यस्तो समस्या देखिएको विभागले जनाएको छ ।
विभागले स्वचालित बायोमेट्रिक सूचना प्रणालीको क्षमता विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको र आगामी दुई साताभित्र सम्पन्न हुने अपेक्षा गरेको छ । त्यसपछि विवरण प्रमाणीकरण सेवा नियमित हुने विभागको भनाइ छ ।
यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध सेवाप्रदायक निकायलाई जानकारी गराइसकिएको र आवश्यक समन्वयसमेत गरिएको विभागले जनाएको छ ।
पछिल्लो समय राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा समस्या देखिँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीलाई असहज भएको गुनासो आएको थियो ।
उक्त समस्यालाई ध्यानमा राख्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिक प्रमाणीकरण नभएकै कारण सार्वजनिक सेवा पाउनबाट वञ्चित हुन नपर्ने स्पष्ट पारेको छ ।
साथै, प्राविधिक समस्याका कारण सेवाग्राहीलाई कुनै पनि सार्वजनिक सेवा लिन असहज हुने अवस्था सिर्जना नगर्न विभागले सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।