काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने भएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल हुनेछ।
बैठकमा सहभागी हुन संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ।