चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ ।
धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सडकमा सवारी आवागमन रोक्न लागिएको हो ।
सडक बन्द रहने समयमा मलेखु–मुग्लिङ सडकखण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन प्रभावित हुने उनले बताए ।
आयोजनाले सडक बन्द हुने अवधिमा चालक तथा यात्रुलाई धैर्य गर्न, लेन अनुशासन कायम राख्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ । साथै, सडक बन्दका कारण यात्रु तथा सवारी चालकमा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमायाचना गरेको छ ।