चन्दा क्षेत्री/काठमाडौं । इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेलिरहेका युवा मध्यम गतिका बलर राहुल यादवको प्रशंसा गरेका छन्। उनले १६ वर्षीय राहुल भविष्यमा श्रीलंकाका महान् बलर लसिथ मलिङ्गाजस्तै प्रभावशाली बलर बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
एनपीएलको तेस्रो संस्करणमा ‘ट्यालेन्ट हन्ट’ मार्फत अवसर पाएका राहुलले सुरुआती दुई खेलमै ६ विकेट लिएपछि उनको प्रदर्शन चर्चामा छ। जनकपुरले पहिलो खेल गुमाए पनि दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदा राहुलले चार विकेट लिँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए।
खेलपछि पोस्टम्याचमा मोइन भने राहुलको बलिङमा विकेट लिने क्षमता देखिएको छ। ‘उनी १६ वर्षका छन् भन्ने मलाई पछिल्लो खेलपछि कसैले बताए। उनी बलिङमा आउँदा धेरैजसो पहिलो बलमै विकेट लिन्छन् जस्तो आभास हुन्छ। भविष्यमा उनी नेपालका मलिङ्गा बन्नेछन् ।’
उनले राहुलले फिटनेस र विनम्रतालाई कायम राख्न सके नेपाली क्रिकेटका लागि निकै उपयोगी खेलाडी बन्न सक्ने पनि बताएका छन्।
राहुलले एनपीएलमा डेब्यु गरेकै खेलमा पहिलो बलमा विकेट लिएका थिए। कात्तिक १० गते (अक्टोबर २७) कर्णाली याक्सविरुद्ध उनले दीपक डुम्रेलाई पहिलो बलमै बोल्ड गरेका थिए। उक्त खेलमा चार ओभर बलिङ गर्दै १५ रन खर्चेर दुई विकेट लिएका राहुलको प्रदर्शन व्यक्तिगत रूपमा उत्कृष्ट रहे पनि जनकपुर १९ रनले पराजित भएको थियो।
त्यसपछि कात्तिक १२ गते (अक्टोबर २९) काठमाडौं गोर्खाजविरुद्ध राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। उनले सम हेजलेट, स्मित पटेल, करण केसी र आदिल आलमलाई आउट गरे। उनको उत्कृष्ट बलिङमा काठमाडौं ११५ रनमै समेटियो। जवाफमा मोइन अलीको अविजित ५८ र सैफ हसनको अविजित ४० रनको मद्दतमा जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। राहुल खेलका उत्कृष्ट खेलाडी घोषित भए।
राहुल रौतहटको चन्द्रपुर क्रिकेट एकेडेमीमा अभ्यास गर्दै आएका दायाँहाते मध्यम गतिका बलर हुन्। जनकपुरले अक्टोबरमा आयोजना गरेको प्रतिभा खोज कार्यक्रममा ४४६ भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए। त्यसबाट छनोट भएका सात युवा खेलाडीमध्ये राहुलले आफ्नो प्रदर्शनका आधारमा मुख्य टोलीमा स्थान बनाएका हुन्।
श्रीलंकाका पूर्वतीव्र गतिका बलर लसिथ मलिङ्गा विशिष्ट बलिङ शैली, सटीक योर्कर र निर्णायक क्षणमा विकेट लिन सक्ने क्षमताका कारण विश्व क्रिकेटमा चर्चित थिए। राहुललाई मलिङ्गासँग तुलना गरिनु युवा नेपाली बलरका लागि उत्साहजनक विषय हो। यद्यपि, दुई खेलको प्रदर्शनले मात्र उनको दीर्घकालीन सम्भावना निर्धारण गर्दैन। निरन्तरता, फिटनेस, प्राविधिक सुधार र उच्चस्तरीय प्रतिस्पर्धाको अनुभवले उनको आगामी यात्रा तय गर्नेछ।
राहुलको सुरुआती प्रदर्शनले एनपीएलको प्रतिभा खोज कार्यक्रमबाट नयाँ खेलाडीलाई अवसर दिन सकिने सम्भावना पनि देखाएको छ। अब उनले यही लयलाई निरन्तरता दिन सके नेपाली क्रिकेटमा स्थापित हुने अवसर पाउनेछन्।