काठमाडौं । दशैंमा खसीको मासुको मूल्य अघिल्लो वर्षको तुलनामा बढेको छ। गत वर्ष प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष उपत्यकामा १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ। केही उपभोक्ताले तयारी मासु किन्न प्रतिकिलो २ हजार रुपैयाँसम्म तिर्नुपरेको छ।
बजारमा मासुको मूल्य बढे पनि खसीबोका बिक्री गर्न आएका किसानले भने अपेक्षाअनुसार मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारीले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोका कारण ग्रामीण क्षेत्रबाट खसीबोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन्।
काभ्रेबाट २५० वटा खसीबोका लिएर काठमाडौं आएका किसान बैनसिंह मोक्तानले २१० वटा बिक्री गरिसकेका छन्। बाँकी ४० वटा पनि बिक्री हुने क्रममा रहेको उनले बताए। उनका अनुसार खसीको तौलअनुसार प्रतिकिलो ७०० देखि ९०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
“तर पोहोरको तुलनामा यो वर्ष खसीको मासुको भाउ चाँही महँगो नै छ,” मोक्तानले भने। उनले बाढीका कारण नाका बन्द हुनु र पश्चिम एसियाको द्वन्द्वले पनि मूल्यवृद्धिमा असर पारेको हुन सक्ने बताए।
किसानले जिउँदो खसी बिक्री गर्दा पाउने मूल्य र उपभोक्ताले तयारी मासु किन्दा तिर्नुपर्ने मूल्यबीच ठूलो अन्तर देखिएको छ। उपभोक्ता अमृत तिवारीका अनुसार जिउँदो खसी प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँमा किन्नुपर्छ भने तयारी मासुका लागि प्रतिकिलो २ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।
“यसपटक भारतीय खसी नभित्रिएको कारणले पनि खसीको मासु महँगिएको हुन सक्छ,” तिवारीले भने।
दशैंमा खसीको मासुको माग उच्च हुने भए पनि मूल्यवृद्धिको प्रत्यक्ष मार उपभोक्तालाई परेको छ। दशैंको दुई सातामा काठमाडौं उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ।