काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष नवरात्रमा तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने जनाएको छ।
समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते महाअष्टमीका रूपमा गरिएका पूजा तथा धार्मिक कर्म कात्तिक २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो।
उहाँका अनुसार कात्तिक २ गते नवरात्रको नवौँ दिन परे पनि अष्टमीका दिन गरिने धार्मिक विधि नै सम्पन्न गर्नुपर्नेछ। उक्त दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुका साथै महाअष्टमीमा गरिने अन्य कर्मसमेत दोहोर्याउनुपर्नेछ।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ।
अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र नौ दिनको सट्टा दशरात्र बनेको छ। त्यसैले विजयादशमीका दिन लगाइने टीकामा १० रात्रिका जमरा प्रयोग गरिनेछ। देवीको साधना, पूजा तथा आराधनाका लागि एक दिन थपिँदैमा धार्मिक विधिमा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
यसैबीच, हनुमानढोका दरबारस्थित दसैँ घरमा आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ। दरबार हेरचाह अड्डाका अनुसार मुख्य पूजा भने सोमबार गरिनेछ।
हनुमानढोका दरबारमा महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहँदै आएको छ।