काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिरनजिक मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार गएराति बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको हो। मोटरसाइकल रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन्। मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुलीमा बस्दै आएका १६ वर्षीय महमद जसिमको भने मृत्यु भएको छ।
गम्भीर घाइते जसिमलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते मोटरसाइकल चालक ठाकुरलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।