काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकका अन्य राजनीतिक दल असफलतातर्फ उन्मुख भएको दाबी गर्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको बताएका छन्।
नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकको राजनीतिमा अनिश्चितता बढेको भन्दै राप्रपालाई आगामी चुनौती सामना गर्न सक्ने र देशको नेतृत्व लिन सक्ने शक्तिका रूपमा विकास गर्नुपर्ने बताए।
लिङ्देनले पार्टीको आसन्न महाधिवेशनलाई संगठन पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। परम्परागत कार्यशैलीबाट पार्टी बलियो बन्न नसक्ने भन्दै उनले नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिनुपर्ने बताए।
‘हामी सबै बदलिनुपर्छ र नयाँ ढङ्गले जानुपर्छ,’ उनले भने, ‘आउने महाधिवेशनबाट राप्रपालाई पुनर्गठित गरेर जानुपर्छ।’
उनले पार्टीलाई सीमित कार्यकर्तामा मात्र केन्द्रित नराखी आम नागरिकका लागि खुला गर्नुपर्ने बताए। संगठन विस्तार नगरी अहिलेका कार्यकर्तामै सीमित रहेर पार्टी ठूलो बन्न नसक्ने उनको भनाइ थियो।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा स्थापित गर्न पनि संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको लिङ्देनले बताए। महाधिवेशनबाट पार्टीलाई पुनर्गठन गर्ने संकल्पसहित तयारीमा जुट्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे।
लिङ्देनले पार्टीभित्र सैद्धान्तिक एकता कायम राख्दै आवश्यकताअनुसार संगठनात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिए। आसन्न महाधिवेशनलाई राप्रपाको भावी दिशा र नेतृत्वको तयारीसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।