विराटनगर । संघीयता कार्यान्वयनका क्रममा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशका अधिकार सुनिश्चित गर्न साझा धारणा निर्माण गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।
कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सम्मेलनमा सहभागी भएका छैनन्।
सम्मेलनमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्रीसहित प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी छ।
सम्मेलनमा संघीयता कार्यान्वयनमा देखिएका समस्या, प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग तथा प्रशासनिक जटिलता समाधानका विषयमा छलफल गरी साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।